तानसेन। पाल्पामा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाले दिएको तथ्यांक अनुसार २१५ जनामा एन्टिजेन र पीसिआर विधिबाट गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित थपिनेमा सबैभन्दा धेरै तानसेन नगरभित्रका १८ जना रहेका छन् । यस्तै रम्भा गाउँपालिकाका ५, माथागढीका ३, रैनादेवी छहराका २, निस्दी र बगनासकालीका १।१ जना गरी ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिए।
संक्रमितमध्ये २ जना अस्तपालमा उपचाररत रहेको र अन्य संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । केही समय अघिसम्म शुन्यमा झरेको संक्रमण पुनः उकालो लागेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
तराइसंग नाका जोडिएको र सिद्धार्थ राजमार्गले छोएको जिल्ला भएका कारण पनि जिल्लामा अन्य जिल्लाबाट समेत संक्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै पछिल्लो समय स्वास्थ्य मापदण्डको पालनामा नागरिकको चासो घटेका कारण पनि पुनः संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यसैबीच स्वास्थ्य कार्यालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत संक्रमण फैलिएको हुँदा सबै नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।
पछिल्लो पटक फैलिएको भाइरसबाट उच्च गतिमा संक्रमण फैलिने हुँदा अत्यावश्यक काम बिना सार्वजनिक स्थलमा नजान तथा स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिन विज्ञहरुले आग्रह गरेका हुन् ।