पाल्पा बस दुर्घटना: सबै मृतकको सनाखत, ८ जना घाइते डिस्चार्ज

तानसेन। आइतबार बेलुका पाल्पास्थित तानसेन रिडी सडक खण्डको लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाएका तीन महिला र तीन पुरुष गरी ६ जनाको पहिचान खुलेको हो ।

मृत्यु हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका –८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह ७ की ८७ वर्षीया दिलसरी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया एमकली थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

उनीहरु सबैको पाल्पा अस्पतालमा पोस्टमार्टमको तयारी भएको पनि प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका चालकसहित १६ जनामध्ये ८ जना घाइतेको डिस्चार्ज भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको