
तानसेन। पाल्पामा पछिल्लो समय दैनिक कोरोना संक्रमित बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो केही सातादेखि दैनिक संक्रमित बढ्दै गएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या बढेर २९ पुगेको छ ।
पछिल्लो पटक २७ जनाको एन्टिजेन विधिबाट गरिएको नमूना परीक्षणका क्रममा ५ जना महिला तथा २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । केही समय अघिसम्म शुन्यमा रहेको संक्रमण एक्कासी उकालो लागेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो समय जनस्तरमा स्वास्थ्य मापदण्डको पालना हटेपछि पुनः संक्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा संक्रमितहरु बढ्न थालेपछि सार्वजनिक स्थल र कार्यालयहरुमा सेवा लिन जादाँ मास्कको अनिवार्य प्रयोग गर्न पनि विज्ञहरुले सुझाव दिएका छन् ।
पछिल्लो पटक संक्रमित भएका मध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको र अन्य संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।