पाल्पा। आज पनि पाल्पासंगै देशका अधिकांश स्थानमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।

आज दिनभर प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको हुँदा बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताइएको छ ।

विभागले आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु सबैमा अनुरोध गरेको छ ।

रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

तपाईको प्रतिक्रिया