किन मनाइन्छ घण्टाकर्ण पर्व ?

तानसेन। प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शी दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व पाल्पासंगै नेवार समुदायको बसोबास भएका स्थानमा आज मनाइँदै छ ।

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार मनाउने प्रचलन छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा पाती अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

पाल्पाको सित्तलपार्टी, सिलखानटोललगायतका स्थानमा बिहानैदेखि तीनखुट्टे राक्षसको स्वरूप राखिएको छ । दिनभर यसरी राखिने गठामङ्गललाई बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको पाइन्छ तर पाल्पामा भने यसरी राखिएको राक्षसलाई बेलुका नदी तथा खोला किनारमा लगेर जलाउने प्रचलन रहेको छ।

यो पर्वलाई ठाउँ र कूल परम्परा अनुसार पनिमाइदैँ आएको छ । यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन रहेको छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मानिदैँ आएको छ ।

तपाईको प्रतिक्रिया