पाल्पा। नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले सबैखाले अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सेवा दिने जनाएको छ । मंगलबार संघमा आयोजित जुलाई महिनाको छलफलपछि जिल्लाभर रहेका सबैखाले अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक नागरिकको पहिचान गरी सेवा दिने निर्णय गरेको हो।
अष्ट्रेलियन सरकारको सहयोगमा सञ्चालित डिएफएक्ट परियोजनामार्फत यो कार्याक्रम गर्न लागिएको शाखा प्रवन्धक सोवाकान्त न्यौपानेले बताए ।
अहिले पनि समुदारयमा यौनिक अल्पसंख्यकहरु लुकेर बस्नु पर्ने अवस्था जिल्लाका अकतिपय स्थानमा अपाङ्गता भएका व्यक्तिले स्वास्थय सेवा लिनबाट वञ्चित भएको बताउँदै आगामी दिनमा यस्ता व्यक्तिको पहिचान गरी स्वास्थ्य सेवा प्रवाह गर्ने शाखा प्रबन्धक न्यौपानेले बताए ।
यो शाखाले विगतदेखि तानसेनस्थित दमकडा नमूना माध्यमिक विद्यालयको दृष्टिविहिन शाखा तथा काजीपौंवाको सृजनशिल सवलम्वन केनद्रमा स्वास्थय परीक्षण तथा आवश्यक सामग्री समेत उपलब्ध गराउदै आएको शाखा प्रवन्धक न्यौपाले बताए ।
संघले सेवालाई थप प्रभावकारी बनाउन सरोकारवालासंग छलफल गरेर सेवा प्रवाहलाई चुस्त बनाउन लागेको जनाएको छ । यसैबीच यौनिक अल्पसंख्यक तथा सबैखाले अपाङ्गता भएका व्यक्तिहरुलाई संगठीत गर्ने तथा बढ्दो कोरोना महामारीलाई न्यूनिकरण गर्न मास्क सेनिटाइजर जस्ता स्वास्थय सामग्री उपलब्ध गराउने पनि जनाएको छ ।
अपाङ्गता र यौनिक अल्पसंख्यकहरुको प्रजनन् स्वास्थ्य अधिकार प्रत्याभूत गराउन प्रयोगशालासहितको स्वास्थ्य परीक्षण तथा पहिचान खुल्न नसकेकाहरुको तथ्याङ्क लिएर आवश्यक सेवा उपलब्ध गराउने तयारी संघले गरेको छ ।
छलफल कार्याक्रममा राष्ट्रिय अपाङ्ग महासंघका प्रदेश सदस्य तथा सिर्जनशिल अपाङ्गता स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले आफूहरुलाई सूचना लिन समेत गाह्रो भएको बताउदै श्रव्य, दृश्य र लिखित रुपमा सूचना प्रवाह गर्नुपर्ने बताए ।
उनले अपाङ्गता भएका व्यक्ति र यौनिक अल्पसंख्यकहरुका पक्षमा सबै निकायबाट सकारात्मक सोच र सहयोग गरिदिन पनि माग गरेका छन् ।
छलफलकी अध्यक्ष तथा संघकी उपाध्यक्ष ज्योतिराज भण्डारीले सरोकारवाला निकायहरुबाट आएका सुझावहरुका आधारमा नै परियोजनालाई अगाडि बढाउने बताईन्।
सोही अवसरमा संघमा उपलब्ध स्वास्थय सामग्री सिर्जनशिल अपाङ्गता स्वावलम्बन केन्द्रलाई हस्तारन्तर पनि गरिएको थियो ।