पाल्पामा जीप दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर [तस्वीरसहित]

तानसेन। पाल्पामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं.३ झिरुवासस्थित भित्री कच्चि सडक खण्डमा रोकेको लु १ ज २१६९ नम्बरको जीप चिफ्लिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जीपमा सवार रैनादेवी छहरा ३ अमिलेकी ५९ वर्षीया जुनकला पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । यस्तै सोही स्थानकी ४६ वर्षीया कमला आले पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकेर राखेको जीप एक्कासी दुई सय मिटर तल खस्न गई दुर्घटना भएको थियो ।

प्रहरीले जीपको अवस्था र निरन्तरको वर्षाका कारण बाटो चिफ्लो हुँदा दुर्घटना भएको प्रारभिक अनुमान गरेको छ ।

जीपका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया