
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले म बनाउँछु मेरो पालिका भन्ने अभियान सुरु गरेको छ । पालिकामा नव निर्वाचित अध्यक्षसहितका सबै जनतिनिधि र नागरिकको सहभागितामा म बनाउछु मेरो रिब्दीकोट अभियान सुरु भएको हो ।
संघीय संरचना सुरु भएपछि स्थानीय तहमा दोस्रो सरकारमा रुपमा निर्वाचित भएका जनप्रतिनिधिले हरेक विकास निर्माणमा आफ्नो सहभागिता बढाउन र नागरिकसंग हातेमालो गर्दै अघि बढ्ने अठोटका साथ हरेक महिना कम्तीमा एक पटक संचालन हुनेगरी अभियान सुरु भएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।
अभियानमा पहिलो चरणमा गाउँपालिका परिसरमा सरसफाई गरिएको हो । पालिकाका हरेक सार्वजनिक स्थलमा जनप्रतिनिधि कर्मचारी तथा स्थानीय नागरिकको सहभागीतामा सरसफाई कार्यक्रम संचालन हुने अध्यक्ष कार्कीले बताए ।
उनले भने -“पछिल्लो समय नागरिक तहमा सबै कामहरु सरकारले नै गर्नुपछ भन्ने मानसिकता विकास भएको समयमा आफ्नै सहभागितामा गाउँपालिकाका विकास निर्माणसहित अपनत्व विकास हुनेगरी जनसहभागितामूलक कार्य जिल्लामै पहिलो पटक सुरु गरेको छौं।”
घर आगँनदेखि पालिकासम्मका सबै कामका नागरिकले स्वयमसेवीको रुपमा सहभागी भएर काम गर्ने हुँदा अभियानले सार्थकता पाउने छ।”-उनले भने ।
पालिकाले चालू आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा नै समावेश गरेर म बनाउछु मेरो रिब्दीकोट अभियान संचालमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताए ।
अभियान सुरु भएपछि हरेक महिनामा कम्तीमा एक दिन अभियान संचालन हुने र हरेक दिन यो कार्यमा स्थानीय तहकाअध्यक्षसहित नागरिकले स्वयमसेवक बनेर काम गर्ने हुँदा समृद्ध रिब्दीकोट निर्माणको अभियान सुरु हुने अपेक्षा गाउँपालिकाले गरेको छ ।
पछिल्लो समय समूहिक रुपमा काम गर्ने सस्कार समेत हराउँदै गएको हुँदा सानातिना कार्यमा सरकारकै मुख ताक्नुपर्ने प्रचलनको अन्त्य गरी नागरिक र सरकार बीचमो दुरी कम गर्ने लक्ष्य पनि गाउँपालिकाले लिएको छ।