सिद्धार्थ राजमार्गको सडक बीचबाट भासियो, झुम्सा र भुतखोलामा लेदो खसेर समस्या

तानसेन। निरन्तरको वर्षासंगै सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको मुख्य सडक भासिएको छ । उक्त राजमार्गको तिनाउ गाउँपालिकास्थित हिउँदेखोलामा ५० मिटर मिटरबढी सडक भासिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार विगत चार दिनदेखि केही मात्रामा भासिएको सडक बुधबारदेखि दुई खण्ड हुनेगरी भासिएको हो ।

सडककाे सता मिटरबढी चौडाई भासिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

लम्सालले नयाँधारसंग भने -“हालका लागि भासिएको सडकमा माटो भर्दै सवारी पास गरेका छौं। पानी पर्ने क्रम नरोकिए थप सडक भासिएर आवागमन नै बन्द हुने अवस्था पनि आउन सक्छ।”  अहिलेसम्म कुनै सवारी रोकिनु परेको छैन। तर जोखिम भने कायमै रहेको उनले बताए ।

निरन्तर पानी परेमा पुनः सडक भासिन सक्ने हुँदा सुनौलीदेखि पोखरासम्मको यात्रा समेत अवरुद्ध हुनसक्ने जोखिम बढेको छ ।

सोही राजमार्गको झुम्सा र भुतखोलाको बीचमा पनि बेला बेलामा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । सडक डिभिजन कार्यालयले स्काभेटर राखेर पहिरो पन्छाइ सवारी पास भने गर्दै आएको जनाएको छ ।

सडक भासिने र पहिरो खस्ने समस्याले गर्दा जोखिमपूर्ण यात्रा गर्नुपरेको यात्रुहरुको गुनासो छ ।सडक डिभिजन कार्यालये समयमा सडक मर्मत नर्गदा यो राजमार्गमो यात्रा वर्षेनी सास्तीपूर्ण बन्दै आएको यात्रुहरुको भनाई छ।

तपाईको प्रतिक्रिया