आर्यभञ्याङ्ग-रामपुर सडक खण्ड चार दिनदेखि अवरुद्ध

तानसेन। पहिरोका कारण आर्यभञ्याङ्ग रामपुर सडक खण्ड चार दिनदेखि अवरुद्ध भएको छ । उक्त सडक खण्डको पूर्वखोला गाउँपालिका वडा नं.५ को सेफतमा खसेको पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ठूलो पहिरो खसेका कारण सडक सुचारु गर्न समस्या भएको हो ।

बुटवलदेखि मेसिन मगाएर पहिरो पन्छाउने काम भएपनि हालसम्म सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

पुनः पहिरो नखसे भोलिदेखि सडक खुलाउने गरी काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सो क्षेत्रका नागरिक कालीगण्डकी करीडोर भएर यात्रा गर्दै आएका छन् ।

रामपुर तानसेको यात्रामा करीडोरको सडक सहज भए पनि अन्य गाउँबाट सदरमुकामसम्म यात्रा गर्न भने सठक लामो भएको गुनासो यात्रुहरुको छ ।

तपाईको प्रतिक्रिया