तानसेन। पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आउदो निर्र्वाचन पाँच दलीय गठबन्धनबीच कार्यगत एकता गरेर अघि बढ्ने बताएका छन् ।
उनले माओवादी (केन्द्र)संग निर्वाचनअघि कार्यगत एकता गरेर निर्वाचनपछि क्रमशः एकीकरण गर्ने पनि बताए ।
पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले आगामी निर्वाचनका लागि शीर्ष नेताहरुको कार्यदलले होमवर्क गरेको हुँदा केही दिनभित्रै गठबन्धन दलको सीट भागबण्डाको टुंगो लगाउने पनि बताए ।
नेता खनालले समाजवादी पार्टी गठन भएको एक वर्षभित्र देशभर ठूलो रुपमा संगठन विस्तार गर्न सफल भएको दावी गर्दै आउदो निर्वाचनमा सम्मनजनक सीट ल्याउने दावी गरे ।
यसैबीच नेता खनालले नेकपा माओवादीसंग पार्टी एकताको कुरा आएपनि निर्वाचनअघि एकीकरण नगरी कार्यगत एकता मात्र हुने बताए । उनले भने, “हालको गठबन्धन दलभित्र माओवादी केन्द्रसंग वैचारिक रुपमा निकटता देखिएको छ। आउदो निर्वाचनअघि कार्यगत एकता हुन्छ , संगसंगै हिड्छौ र नेतृत्व गर्ने हिसाबले निर्वाचनपछि क्रमश एकीकरणको दिशामा जानेछौं।”
अहिले देश समाजवादयुक्त क्रान्तीको दिशामा हिडेको हुँदा कम्युनिष्ट नेतृत्व त्यसतर्फ लाग्नुपर्ने पनि नता खनालले बताए । सोही बखत नेता खानालले जनताले दिएको बहुमत केपी ओलीको अहमताले नष्ट हुँदा नेपाली कम्युनिष्ट आन्दोलन नै धरापमा पुगेको आरोप लगाए।
यसैबीच नेता खनालले नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादी समाहित भएका तानसेन नगरपालिकाका निर्वतमान प्रमुख उपप्रमुखसहितका नेता तथा कार्यक्रतालाई पार्टीमा स्वागत समेत गरेका छन् ।
ढिलै भएपनि एमाले परित्याग गरी समाजवादीमा आएकोमा नेता खनाले नेताहरुलाई धन्यवाद दिँदै अहिले पनि एमालेभित्र धेरै नेता कार्यकर्ता असन्तुष्ट रहेको हुँदा समाजवादीमा प्रवेश गर्नेको संख्यामा वृद्धि हुने दावी गरे ।
उनले हाल समाजवादी पार्टी संगठन विस्तारको चरणमा रहेको हुँदा आउदो निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने भन्दा पनि सहभागिता बढाउने पक्षमा पार्टी नेतृत्व लागेको बताए ।