तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०७९।८० को पहिलो महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ । साउन महिनाको कार्य प्रगति प्रतिवेदन अनुसार विभिन्न १५ अपराधका तीस वटा मुद्धा दर्ता भएको जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै भुण्डीमृत्यु हुनेको मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार साउन महिनामा ११ जनाको झुण्डी मृत्यु भएको मुद्धा दर्ता भएको हो । यस्तै भवितव्य ज्यानको ३ , अभद्र व्यवहारको २, चोरीको २, सवारी ज्यानको २ रहेका जना विरुद्ध मुद्धा दर्ता भएको छ ।
यस्तै जवरजस्ती करणी, लागुऔषध , फुटकर ज्यान , जवरजस्ती करणी उद्योग , सवारी अंगभंग , जातिय छुवाछुत तथा अपमानजनक व्यवहार, बिषादी सेवन गरी मृत्यु , बाल यौन दुरुपयोग , ज्यान सम्बन्धी , हामफाली(नदी) आत्महत्याको १/१ मुद्धा दर्ता भएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । प्रमुख शाहीका अनुसार दर्ता भएका मध्ये २७ वटा मुद्धा फर्यौट भएको र बाँकी तीन मुद्धा रहेको छ । यस्तै साउन महिनामा एक जना फरार अपराधी समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तैगरी जिल्लाको शान्ति, सुरक्षा तथा प्रहरी कारबाही सम्बन्धमा कार्यालयबाट एक महिनामा सात सय ७५ ले सेवा लिएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी विषयमा घरेलु हिंसाका १५ उजुरी परेको थियो । जसमा १२ मिलापत्र गरी ३ अदालत पठाइएको प्रहरीले जनाएको छ ।
साउन महिनामा १९ जना महिला, ११ जना बालबालिका हराएको उजुरी आएकोमा १४ जना महिला र ११ जना बालबालिका फेला परेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम विद्यालयस्तरमा ११ र समुदायस्तरमा ३७ वटा कार्यक्रम गरिएको प्रहरी कार्यालयले जनाएको छ ।