
तानसेन। पाल्पा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । दुई वर्षअघि ५० शैय्याको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाएपनि दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यमर्की नहुँदा सेवा प्रवाहमा समेत सास्ती भएको हो ।
५० शैयाको अस्पताल स्वीकृति पाएपछि अस्पतालमा नौँ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबिबिएस डाक्टरको दरबन्दी छ । तर अस्पतालमा हाल एक जना पनि विशेषज्ञ डाक्टर छैनन् ।
एमबिबिएस डाक्टर आठ जना हुनुपर्नेमा जम्मा तीन जना मात्रै कार्यरत छन् । जसका कारण सेवा लिन आएका बिरामीलाई सेवा दिन समस्या परेको अस्पताल प्रशासनले जनाएको छ ।
दरबन्दी अनुसारको चिकित्सक र कर्मचारी नहुँदा तोकिएको सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका कर्मचारीले बताएका छन् । अस्पतालमा स्वास्थ्यकर्मी र विशेषज्ञ सेवा दिने चिकित्सक नहुँदा सेवाप्रवाहलाई सहज बनाउन समस्या भइरहेको अस्पतालकी निमिक्त मेडिकल सुपरीटेण्डेन्ट रन्जिता महतोले बताइन् ।
दरबन्दी अनुसार कर्मचारी नहुँदा ओपिडी सेवा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्नुपर्ने बाध्यता रहेको र तीन बजेसम्म सञ्चालन गर्नुपर्ने ओपीडि बिरामी जाँच गर्दै अध्याँरो हुने समस्या रहेको डा. महतोको भनाई छ ।
अस्पतालको क्ष्मताअुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समयमै उपचार पाउन र घर फर्किन समस्या भएको बिरामीको गुनासो छ ।
अस्पतालमा डाक्टर नभएको भनेर घण्टौँ कुरेर सेवा लिनुपर्ने बाध्यता रहेको बिरामीको दुखेसो रहेको छ ।