तानसेन। पाल्पाका हिन्दु नारीले दुई वर्षपछि उत्साहित भएर तीज पर्व मनाएका छन् । कोरोना महामारीले दुई वर्षसम्म पर्व मनाउन नपाएर नारीले यो वर्ष उत्साहका साथ पर्व मनाएका हुन् ।
जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका सबै स्थानीय तहमा महिलाहरु जमघट भएर पर्व मनाएका हुन् । नेपाली नारीको महान् पर्वका रुपमा मनाइने यो पर्व मनाउने क्रममा भने मौलिकता हराएको पाइएको छ ।
तीजको दर खानेदेखि पर्व मनाउने क्रममा पुरानो र मौलिक सस्कृति हराउँदै गएको पकाका पुरानाले बताएका छन् । तीजको दिन तानसेनस्थित रणउजेश्वरी भगवती मन्दिर परिसर, प्रभास क्षेत्र, जिल्लाका विभिन्न शिव मन्दिरहरुमा देखिएको पर्व मनाउन जुटेका महिलाहरु क्यासेट बजाएरै गीतमा नाच्ने गरेको पाइएको छ ।
खासगरी पश्चिमा सस्कृतिको प्रभावले भड्किलो र आधुनिक मनोरञ्जनका साधनमा भएको विकासका कारण मौलिक भाकाहरु समेत हराएको पाका पुरानाको भनाई छ।
ग्रामीण भेगहरुमा केही मात्रामा मौलिक रुपमा पर्व मनाउने र नाचगान गर्ने भएपनि सहरी क्षेत्रमा क्यासेट कै भरमा पर्व मनाउने प्रचलनको विकास भएको छ।
तीज आउनु भन्दा एक महिनाअघिदेखि विभिन्न होटल तथा पार्टी प्यालेसमा जमघट भएर दर खाने प्रचलनले समाजमा नकारात्मक प्रभाव बढी देखिएको पुराना पुस्ताले बताएका छन् ।
पहिले तीजमा दिदी बहिनी जम्मा भएर पर्व मनाउने र आफ्ना दुःख सुखलाई गीतका माध्ययमबाट सुनाउने प्रचलन हराउँदै गएको बगनासकाली ४ की गोमादेवी अर्यालले बताइन् ।
पछिल्लो समय पर्वका बेला अनावश्यक खर्च गर्ने चलन बढेको हुँदा न्यून आय स्तर भएका परिवारलाई भने पर्व मनाउन नसक्ने अवस्था सृजना भएको पाइएको महिलाहरुको भनाई छ ।