पाल्पामा डेढ महिनामा २४ जनामा डेंगु संक्रमण

तानसेन। पाल्पामा डेढ महिनामा २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउन र भाद्र महिनाको हालसम्म २४ जनामा संक्रमण पुष्टि भएको हो।

विगतमा तराइका जिल्लामा देखिएको संक्रमण पछिल्ला वर्षहरुमा उच्च गतिमा पहाडी जिल्लामा फैलिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा आर्थिक वर्ष ७७।७८ मा शुन्य अवस्थामा रहेको डेंगुको संक्रमण गत आर्थिक वर्षमा जिल्लाभरमा जम्मा २७ जनामा देखिएको र चालू आर्थिक वर्षको दुई महिना नपुग्दै २७ जनामा संक्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डां राजेन्द्र गिरीले बताए ।

हाल देशभरका ७० जिल्लामा फैलिएको डेंगुको संक्रमण सबैभन्द्या धेरै बगमती प्रदेश र त्यसपछि लुम्बिनी प्रदेशमा देखिएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीसंगै गुल्मी अर्घाखाची र पाल्पामा बढी संक्रमण देखिएको प्रमुख डा.गिरीले बताए ।

 

यसैबीच दैनिकजसो संक्रमित देखिन थालेपछि स्वास्थ्य कार्यालय पाल्पाले यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि जिल्लास्थित सरोकारवालासंग छलफल गरेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा डेँगु, स्क्रबटाइफस तथा कालाजार रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेकाे छ ।

कार्यक्रममा सरोकारवाला पक्षले  पाल्पा जिल्लामा केही दिनयता डेँगुबाट संक्रमण भएका बिरामीको संख्या बढेकाले सबै जना सचेत रहनुपर्नेमा जोड दिएका थिए । डेँगु लामखुट्टेबाट सर्ने भएकाले त्यसबाट बच्न पानी जम्ने स्थानलाई तत्काल पुर्ने, लामा बाउला भएका कपडा लगाउने  ससंक्रमण फैलिन नदिन सचेतनाका कार्यक्रम गर्ने, परीक्षण र उपचारका लागि तयारी गर्नेबारे छलफल भएको थियो ।

यस्तै रोगको सम्भावित जोखिम बहन गर्न जिल्लाका सबै स्थानीय स्थानीय तहलाई पूर्वतयारी गर्नुपर्ने तथा आवश्यक परीक्षण किट उपलब्ध गराउनेबारे सहज रुपमा उपचारका लागि तयारी गर्न प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले आग्रह गरे।

हाल जिल्लाका रिब्दीकोट र रैनादेवी छहरामा संक्रमदर धेरै रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया