तानसेन। पाल्पा प्रहरीले अवैध रुपमा भन्सार छलेर भित्रिएका १ सय थान कुर्था सरवाल सेट बरामद गरिएको छ । सिद्धार्थ राजमार्ग नजिकै तिनाउ गाउँपालिका वडा नं. ३ पौठेडाँडामा बोरामा राखिएको अवस्थामा कपडा बरामद भएको हो।

प्रहरीका अनुसार बेवारिसे अवस्थामा राखिएको दुईवटा बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी दोभानबाट खटिएको टोलीले उक्त सामान हेर्दा सेतो बोरामा ५० थान र निलो बोरामा ५० थान गरी १ सय थान कुर्ता सुरुवाल फेला परेको जनाएको छ ।

उक्त सामान नियन्त्रणमा लिई अनुसन्धानको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए ।

दुईवटा बोराबाट अनुमानित ८० हजार बराबरको सामान बरामद गरिएको प्रहरी प्रवक्त थापाले जानकारी दिए ।
पछिल्लो समयमा भारतको अवैधबाटो हुँदै यस्ता सामानहरु बेच्ने गिरोहहरु पाल्पाको गाउँ गाउँसम्म आउने र स्थानीयलाई ठग्ने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

यसरी भन्सार छली सामान ओसारप्रसार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया