हिउँदे खोलामा नयाँ डाइभर्सन पहिराेले बगायो, सडक खुलाउन अन्योल

तानसेन। निरन्तरको वर्षाका कारण मुख्य सडक भासिएको सिद्धार्थ राजमार्गको हिउँदे खोलामा रातिको समयमा नयाँ डाइभर्सन निर्माण भएपनि पहिरोले बगाएको छ ।

सडक डिभिजिन पाल्पाले गएराति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सवारी संचालनमा समस्या भएको हो । गएराति पौने दश बजेबाट नयाँ डाइभर्सन निर्माण गरिएको र निर्माण सम्पन्न हुनासाथ पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन नसकेको हो ।

यस्तै नयाँ खोलिएको सडकमा समेत आज बिहान पहिरो खसेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बतए । अहिले पनि पानी परेका कारण सडक खुलाउने काम गर्न असहज भएको छ । माथिबाट पहिरो खस्ने र खनिएको सडक समेत पहिरोले बगाएपछि सडक खुलाउने विषय नै अन्यौलमा परेको सूचना अधिकारी लम्सालले बताए । उक्त राजमार्गमा बिहीबार दिउँसो करिव ६० मिटर सडक पूर्ण रुपमा भासिएको थियो ।

सडकमा देखिएको समस्याका कारण यात्रुहरु भने अलपत्र परेका छन् । अहिले निरन्नतर पानी परेका पानी रोकिएपछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने सडक डिभिजन पाल्पाले जनाएको छ ।

यसैबीच पहिरोका कारण सुनौली पोखराको यात्रा रोकिएको छ । बाह्रै महिना सास्तीको सडकका रुपमा रहेको यो रागमार्गको तानसेन बुटवल खण्डमा खासगरी चार्डवार्ढका बेला यात्रुले थप सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया