तानसेन। पाल्पाकाे निस्दी गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा सुरू भएकाे छ । सेवा सुरू भएसंगै गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुर्ने बाध्यता हटेकाे छ ।
पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेसंगै स्थानीय महिलालाइ सहज भएकाे हाे । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले जानकारी दिए ।
वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य चौकीमा २२ गते, वडा नं ३ को झिरुवास स्वास्थ्य चौकीमा २१ गते, वडा नं ४ को मित्याल स्वास्थ्य चौकीमा ११ गते, वडा नं ५ को गल्धा स्वास्थ्य चौकीमा १४ गते, वडा नं ६ को अर्चले स्वास्थ्य चौकीमा १२ गते तथा वडा नं ७ को ज्यामिरे स्वास्थ्य चौकीमा १३ गते भिडियो एक्सरे सेवा दिइने उहाँले बताउनुभयो । यही भदौ ११ गतेदेखि उक्त सेवा सुरु गरिएको हो ।
“प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमीको व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ”, संयोजक दिसाले भन्नुभयो । गर्भवतीको समस्यालाई ध्यानमा राख्दै पालिकाले उक्त सेवा सुरु गरेको हो ।
गर्भवतीलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा समय तय गरेर सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो ।
गाउँकै स्वास्थ्य चौकीबाट सेवा पाउँदा उनीहरुलाई ठूलो राहत मिलेको छ । यसअघि तानसेन र रामपुर धाउँदा यातायात, बास बस्नेलगायत समस्या थियो ।
स्थानीयस्तरमै सेवा पाउँदा सास्ती भोग्नुपर्ने समस्या टरेको स्थानीय महिलाले बताएका छन्।