पाल्पामा सात हप्तामा ४७ जनामा डेंगु संक्रमण, परीक्षण किट भने अभाव

तानसेन। पाल्पामा पछिल्लो एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार भाद्र १३ गतेदेखि १९ गतेसम्म थप २३ जनामा डेंगु रोगको संक्रमण देखिएको हो ।

पछिल्लो पटक गरिएको परीक्षणमा तानसेनस्थित यनाइटेड मिसन अस्पतालमा १० जना तथा लुम्बिनी मेडिकल कलेजमा उपचाररतमध्ये १३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए । योसंगै जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४७ जनामा डेंगुको संक्रमण देखिएको छ ।

यसैबीच पहाडी जिल्लाहरुमा डेंगुका संक्रमित बढेपनि परीक्षण किट भआव देखिएको छ । यो आर्थिक वर्ष सुरु भएदेखि दैनिक जसो संक्रमित बढेपनि परीक्षण किट उपलब्ध हुन नसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

किट अभावले सरकारी अस्पतालमा डेंगु परीक्षण हुन सकेको छैन् ।जसका कारण बिरामीले चर्को मूल्य तिरेर निजी अस्पतालमा परीक्षण गर्न बाध्य भएका छन् । किट अभावकै कारण जिल्लाका सरकारी अस्पताल रामपुर र पाल्पा अस्पतालमा यसको परीक्षण हुन सकेको छैन।

जिल्लास्थित लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आउनेमा भने डेंगु संक्रमण दैनिकजसो देखिएको अस्पतालले जनाएका छन् ।

अहिले सरकारी अस्पतालमा किट नभएपछि बिरामीले चर्को शुल्क तिरेर निजी अस्पताल पुग्नु परेको बिरामीले जनाएका छन् । निजी अस्पतालमा कोरोना र डेंगुको परीक्षण गरेर मात्र अन्य रोगको उपचार हुँदै आएको छ । जस्ले गर्दा बिरामीले मर्कामा परेको गुनासो गरेका छन् ।

सरकारले सरकारी किट उपलब्ध नगराउदा सरकारी अस्पतालले सेवा दिन नसक्नु र निजी अस्पतालले शुल्क लिएर मात्रै परीक्षण गराउदा ज्वारो, रुघाखोकी जस्ता लक्षणदेखिएका बिरामी मर्कामा परेका हुन् । हाल देशका अधिकांश जिल्लामा डेंगुको संक्रमण फैलिएको हुँदा माग गरे अनुसार किट उपलब्ध नभएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.गिरीले बताए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer