
तानसेन। पाल्पाकाे माथागढीस्थित सराइमा हुन गइरहेकाे ‘प्रथम सराई महोत्सव’को तयारी पूरा भएको आयाेजकले जनाएकाे छ । सराई युवा क्लवले बुधबार पत्रकार सम्मेलन गरी महाेत्सवकाे तयारी पूरा भएकाे जनाएकाे हाे ।
भाेलि भाद्र २३ गतेदेखि असोज ३ गतेसम्म हुन गइरहेकाे महाेत्सवकाे सबै तयारी पूरा भएकाे क्लवका अध्यक्ष कृष्ण सारुले जानकारी दिए । मेलाको उद्घाटन भोली ११ बजेदेखि सराई वडा नंं ३ क्षेत्र खेलमैदान परिसरमा झाकीर्याली तथा पञ्जेबाजासहित हुने क्लवकी सचिव माया बस्यालले जानकारी दिइन् ।
महोत्सवले मुख्य गरी पाल्पाकाे माडी क्षेत्रसहित पाल्पाकै आर्थिक तथा सामाजिक उत्थानमा सहयाेग पुग्ने आयाेजककाे दावी छ । कृषि, व्यापार,शिक्षा, स्वास्थ्य, पशुपंक्षी तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने आयाेजककाे भनाइ छ ।
महाेत्सवमा १ सय ५० स्टलहरु रहने आयोजकले जनाएको छ । जसमध्ये १५ वटा कृषी स्टलहरुलाई निशुल्क गरिएको आयोजकको भनाइ छ । मेलामा दैनिक राष्ट्रिय ख्याती प्राप्त कलाकार देखि स्थानियकलाकारको प्रस्तुती रहने छ । मेला आयोजनाले स्थानिय स्तरमै युवाहरुलाई अस्थाई रोजगारी समेत मिल्ने आयोजकले जनाएको छ । मेलावाट ७० लाख बराबरको कारोबार हुने र ३० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको भनाई छ ।