
तानसेन। पाल्पाको तिनाउ गाउँपालिकाले स्थानीय तह निर्वाचनपछिको एक सय दिनको प्रगति सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहीबार ३६ बुँदामा समेटिएको एकसय दिनको प्रगति विवरण सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ प्रस्ततु गरेको विवरणअनुसार एउटा गाउँसभा, ९ वटा गाउँ कार्यपालिकाको बैठकका साथै पालिकाका बिरामीका लागि निः शुल्क एम्बुलेन्स सेवासम्मका कार्यलाई प्रगति विवरणमा समावेग गरेका छन् ।
यस्तै गाउँपालिकाको पञ्च वर्षीय आवधिक योजना निर्माण विभिन्न विषयगत समिति निर्माण भैतिक पूर्वाधार निर्माणका साथै उपभोक्तालाई खानेपानीको महशुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेका पालिका अध्यक्ष क्षेष्ठले बताए ।
पालिकाको नीति तथा कार्यक्रमा समावेश भएका विषयहरु शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, युवा स्वारोजगारलगायतका क्षेत्रको विषयलाई समेत प्रगतिका विषमा समावेश गरेको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले यस वर्ष बालमैत्री स्थानीय शासन कार्यान्वयना लागि बजेट विनियोजन गरी काम सुरु गरेको गाउँपालिकाले जनाएको छ । यस्तै भुमिसम्बन्धि समस्या समाधान, सामाजिक सुरक्षा भत्ता बैंकसँगको सहकार्यमा सहज रुपमा वितरणको प्रयास जस्ता विषयलाई समेत प्रगतिमा समावेश गरेको छ ।
यसैबीच गाउँपालिकाले प्रस्तुत गरेको विषयलाई कार्यान्वयन गर्नुपर्ने सहभागीले जोड दिएका थिए । कार्यक्रममा नेकपा एमाले तिनाउ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी, नेपाली कांग्रेस तिनाउका सभापति प्रेम पाण्डेय र नेकपा माओवादी केन्द्र तिनाउका अध्यक्ष दिनेश जिसीले प्रगति प्रतिवेदनको पाना धेरै भएपनि महत्वपूर्ण निर्णय र काम थोरै भएको बताएका थिए।
कागजमा देखिएका प्रगति र आगामी दिनका लागि बनाइएका योजनाहरु जनताको जीवनस्तरसंग जेदिनेगरी अघि बढ्नुपर्ने उनीहरुले बताएका थिए । यस्तै नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गाउँपालिकाले समय समयमा कार्य प्रगति सार्वजनिक गर्दा राम्रो सन्देश जाने बताए । उनले दैनिक प्रशासनिक काम भन्दा जनताले महशुस गर्ने खाले काम गर्न पालिकालाई सुझाव दिए ।
सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले छोटो समयमा पनि उल्लेख्य काम गर्न तिनाउँ गाउँपालिका सफल भएको बताए । उनले जनप्रतिनिधि र कर्मचारीहरुको असल सहकार्यबाट तिनाउलाई समृद्ध बनाउन सबैको सुझाव र सहकार्यको खाचो रहेको पनि बताएका थिए ।