तानसेन।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालू आर्थिक वर्ष २०७९।८० को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा सात करोड ६५ लाख ३ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
पूजीगततर्फ तीस लाख पचास हजार र चालूतर्फ छ करोड ७६ लाख तीन हजार रुपैयाँ रहेको विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र बहादुर रानाले बताए ।
रानाका अनुसार यो वर्ष वर्ष साधारण कार्यक्रम अन्र्तगत पूजिगत कार्यक्रम कार्यालयको तालिम हलको तला थप, ग्यारेज र कम्प्यूटर खरिदका लागि वीस लाख ५० हजार, चालु खर्चको कार्यक्रममा दुई करोड २७ लाख तीन हजार रुपैया गरी कुल दुई करोड ४७ लाख ५३ हजार रहेको छ ।
यस्तै कृषि उत्पादन,खाद्य तथा षोषण सुरक्षा कार्यक्रम अन्तर्गत नब्बे लाख ७५ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि एक करोड ९ लाख ४८ हजार, मत्स्य विकास कार्यक्रमका लागि पाँच लाख ९५ हजार,कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमका लागि एक करोड ८६ लाख २ हजार,पशुपन्क्षी विकास तथा पशु स्वास्थ्य नियमनका लागि तेत्तीस लाख ८० हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाईको व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमको क्रमागत योजनामा तेत्तीस लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख रानाले बताए ।
यसैबीच जिल्लामा पछिल्लो समय दुध उत्पादनमा वृद्धि भई छुर्पी र चिज तयार गरी पोखरा र बुटवल निर्यात भएको कार्यालयले जनाएको छ । आगामी दिनमा स्थानीय तहसंग समन्वय गरी मासु तथा अन्य उत्पादनमा सेत जिल्लालाई आत्मनिर्भर हुनेगरी कार्य गरेको कार्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लाको आवश्यकता र मागका आधारमा प्राप्त बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउदै पशुपालक किसानको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरे ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु,पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा,माथागढी गाउँपालिका अध्यक्ष यम चिदी,बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक,तानसेन ६ का वडाध्यक्ष सागरमान बज्राचार्यलगायतले स्थानीय जातको भैसी संरक्षण,बजारीकरणका विषयमा गम्भीर हुनुपर्ने बताए । उनीहरुले दुध खान पाउँदासम्म गाई राख्ने त्यसपछि सडकमा छोड्ने चलन बढेकोले यसको नियन्त्रणका लागि गाईको अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने बताए ।
यस्तै पत्रकार कृष्ण कार्की, प्रकाश नेपाल, विष्णु खनाललगायतले छाडा कुकुर वध्याकरण तथा छाडा चौपायालाई व्यवस्थापन, दुग्धजन्य पदार्थमा देखिएकाे समस्या समाधान जस्ता काममा ध्यान दिन र बजार अनुगमलाई प्रभावकारी बनाउन पनि कार्यालयलाई अनुरोध गरेका थिए ।