
तानसेन। पाल्पामा एक जना स्वास्थ्यकर्मी दुई वटा सरकारी कार्यालयमा कार्यरत रहेको भेटिएको छ । अहेब पदका कर्मचारी अरुण कार्की तानसेनस्थित पाल्पा अस्पताल र तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत रहेको भेटिएको हो ।
लामो समयदेखि पाल्पा अस्पतालमा अहेब पदमा कार्यरत कार्की गत वर्षको फगुनदेखि तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा समेत कार्यरत रहेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए । सूचना अधिकारी आचार्यका अनुसार भाद्र १९ गतेदेखि कार्कीलाई नगरपालिकामा हाजिर हुन भने दिइएको छैन् । तर कार्कीले राजिनामा नदिएर काममा निरन्तरता दिएका छन् ।
कानुन अनुसार सरकारी सेवामा कार्यारत व्यक्तिले दोहोरो सुविधा लिन पाउने व्यवस्था नभएपनि कार्कीले भने दुई स्थानबाट सुविधा लिदै आएका छन् । तानसेन नगरपालिकामा प्रकृया पुर्याएर करारमा नियुक्त गराएको तानसेन नगरपालिकाले जनाएको छ ।
उता वि.स. २०७५ साल भन्दा अघिदेखि नै कार्की पाल्पा अस्पतालमा कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ। कार्कीलाई हाजिर नगराएको जनाए पनि उनी दुईतर्फ नै काम गर्दै आएका छन् ।
कार्कीले दुईतर्फ हाजिर गरे पनि एकतिर मात्रै काम गर्ने गरेको आरोप स्थानीयको छ । देशमा बढ्दो बेरोजगारीको समस्या देखिएको बेला एकैजना व्यक्तिले दोहोरो सेवा लिदासमेत सरोकारवाल निकायले चासो नदिएको स्थानीयले बताएका छन् ।