पहिरोले तानसेन-रिडी तम्घास सडक खण्ड अवरुद्ध, तानसेन-बुटवल भने संचालनमा

तानसेन। पहिरोका कारण तानसेन रिडी तम्घास सडक खण्ड अवरुद्ध भएको छ । निरन्तको वर्षासंगै पहिरो खसेपछि आज बिहान पौने १२ बजेदेखि  सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

तानसेन नगरपालिका वडा नं. ११ स्थित सम्मोबारी नजिकै खसेको पहिरोले पूर्ण रुपमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अहिले सडक डिभिजन कार्यालय पाल्पाको स्काभेटरले पहिरो पन्छाउन सुरु गरे पनि सवारी संचालन गर्न अझै दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यही स्थानमा दुई वर्षा अघि पनि पहिरोले सवारी समेत बगाएको थियो । कमजोर भू वनावट भएको स्थानमा प्राविधिक मूल्यांकन बिना सडक बिस्तार गर्दा वर्षेनी पहिरोको जोखिम बढेको स्थानीय तथा यात्रुले बताएका छन् ।

सवारी आवागमन बन्द हुँदा गुल्मी अर्घाखाची हुँदै पश्चिम पाल्पासम्मको यात्रामा निस्केका यात्रुहरु अलपत्र परेका छन् ।

यसैबीच सिद्धार्थ राजमार्गको चर्चरेमा खसेको पहिरो पन्छाएर तानसेन बुटवलको यात्रा भने निरन्तर संचालनमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया