
छहरा।पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीमा १९ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । भुवनपोखरीको अर्सोदी, दमार, ढुकुरखोला, नयाँ बस्तीसहितका ७१ घर परिवार १९ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।
लामो समयदेखि बिजुली बाल्न नपाएको गुनासो गरिरहदा समेत सम्बन्धीत निकाए बेखबर भएको स्थानीयको भनाई छ। सामुदायिक विद्युतीकरणमार्फत विद्युत् सुविधा पाएका यहाँका स्थानीयले पछिल्लो समय समितिले गरेको बेवास्ताका कारण समस्या भोग्नु परेको बताएका छन् ।
समितिले १० वर्षदेखि साधारणसभा समेत नगरेको र विधुत अनियमिता मात्रै नभएर राजनीतिक आस्थाका आधारमा समेत विधुत वितरण गरेको स्थानीय कमल भटराईले बताए । सामुदायिक विद्युतीकरण समिति भुवनपोखरीका अध्यक्ष लालबहादुर दर्लामीले नेकपा एमालेको घरमा विधुत मिटर जोड्दा अन्य दलमा आस्था राखेका करिव २१ घरमा ३५ सयका दरले पैसा लगेर अहिलेसम्म मिटर नदिएको भटराईले बताए ।
स्थानीयले सामाजिक सञ्जालमा समेत छिटो विद्युत सुचारु गर्न सम्बन्धीत निकाय तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
सरकारले ९० प्रतिशत खर्च बेहोर्ने र बाँकी रकम स्थानीय उपभोक्ताले सहकारी वा सामुदायिक संस्थामार्फत बेहोर्ने गरी गाउँमा विद्युत् उपलब्ध गराउने नीति नै सामुदायिक ग्रामीण विद्युतीकरण हो । तर यो नियम भने पाल्पाको भुवनपोखरीमा लागु हुन सकेको छैन। अझ विद्युतीकरणबाट ग्रामीण भेगलाई विकासको मूलधारमा ल्याउन स्थापना भएको सामुदायिक विद्युतीकरणको दुरावस्था भुवनपोखरीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन ।
वडा अध्यक्ष प्रदिप पौडेलले आफुहरुलेको तर्फबाट सबै काम गर्न कानुनी हिसाबले झन्जट भएको र धेरै समयदेखि सामुदायिक संस्थालाई धेरै पटक यस सम्बन्धमा ध्यानाकर्षण गर्दा समेत अध्यक्ष लाल बहादुर दर्लामीसहितको समितिले समस्याको बेवस्था गर्दै आएको बताउँदै विद्युतको क्षमता कमी भएको र संस्थामा दक्ष जनशक्तिको अभाव भएकोले गाउँका जनताले यस्तो समस्या भोगेको बताए ।वडाबाट अन्तिम पटक ५ गतेसम्म समय दिएको र ७ गते आमभेलाबाट निकास निकाल्ने समेत अध्यक्ष पौडेलले बताए ।
सामुदायिक विद्युतको विषयमा केही दिन पहिले सेवाग्राहीको तर्फबाट वडा कार्यालयमा ध्यानाकर्षण पत्र आएको त्यस पश्चात् सामुदायिक समितिलाई लिखित पत्रचार गर्दा समेत केही जवाफ नआएकोले अध्यक्षलाई पटक पटक फोन एवं भेट गरेर ताकेता गर्दा समेत बेवास्ता गरेको उनले बताए ।
सामुदायिक विद्युतीकरणमा देखिएको समस्याका बारेमा टेलिफोन मार्फत सामुदायिक विद्युतीकरण भुवनपोखरीका अध्यक्ष लाल बहादुर दर्लामीलाई राख्दा सन्चो नभएर हस्पीटलमा भएको बताउदै ट्रान्सफर्मर मर्मत गरेर ल्याएपछि समस्या सामाधान हुने बताए । दर्लामीले मिटर जडानमा राजनीतिकरण नभएको तर मिटर अहिलेसम्म नआएको बताए ।
दर्लामी २०७४ सालमा नेकपा एमालेको तर्फबाट भुवनपोखरीमा वडा अध्यक्ष पदमा निर्वाचित भएर ५ वर्ष काम समेत गरेका थिए । ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायलाई सर्वसुलभ, सस्तो र भरपर्दो विद्युत् सुविधा उपलब्ध गर्न सामुदायिक विद्युतीकरणका लागि प्राविधिक एवं नीतिगत सुधारमा ध्यान दिनुपर्नेमा जोड स्थानीयहरुको छ । तर, २०६० सालदेखि सुरुभएको सामुदायिक विद्युतीकरण स्थापना भएको १८ वर्षमा नै स्थानीय उपभोक्ता समितिकै लापरबाहीले धरासायी बन्दा स्थानीयमा चिन्ता थपिएको छ ।
यो बिषयमा स्थानीय सरकारले चासो दिएर लाग्न पर्ने स्थानीयले बताएका छन् ।