रकम बुझाएको १५ वर्षपछि निस्दीको बल्याे बिजुली

पाल्पा। पाल्पाको निस्दीका स्थानीयले रकम बुझाएको डेढ दशकपछि बिजुली बत्तीको उपयोग गर्न पाएका छन्। गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं. ४, मित्यालको लामेदमारका बासिन्दाले सामुदायिक विद्युतीकरणमार्फत रकम बुझाएको १५ वर्षपछि विद्युत उपभोग गर्न पाएका हुन् ।

बिजुली बत्ती बाल्ने रहरले प्रतिघर पाँचदेखि १० हजारसम्म रकम बुझाएका स्थानीयले समयमा बिजुली बाल्न नपाउदा निरास भएकोमा हाल विजुली बल्न थालेपछि खुसी भएका छन् । रकम बुझाएको १५ वर्षपछि लामेदमारका ५५ घरधुरीले बिजुली बत्ती बाल्न पाएको स्थानीय लिलबहादुर आलेले जानकारी दिए ।

बिजुली बत्तीका लागि पटक–पटक गाउँलेले सामुदायिक विद्युतीकरण उपभोक्ता समिति, विद्युत् प्राधिकरण र जनप्रतिनिधिलाई आग्रह गर्दा पनि आफूहरूको माग सम्बोधन हुन नसकेकोमा हाल बिजुली बाल्न पाएपछि स्थानीयलाई उज्यालोमा बस्न पाउनु मात्रै होइन, मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पठनपाठनमा समेत टेवा पुगेको स्थानीयले बताएका छन् ।

अहिलेसम्म केन्द्रीय विद्युत नपुगेको यो पालिकाको लामेदमारसहित बेलखरक, गोठडाँडा, खोर्मोक, रिपाहा, पोखरादहर, थोक्सिबास गाउँका करिब एक सय घरमा केही दिनपछि नै बत्ती बल्ने निस्दी गाउँपालिकाले जनाएको छ ।

निस्दीका ७ वटा वडामध्ये पाँच वटा वडामा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले बिजुली बत्ती बाल्ने जिम्मा लिएको छ । निस्दीको वडा नं. १ र २ मा अझैँ बिजुली बत्ती बल्न सकेको छैन ।

केही वडामा भने बत्ती बलिसकेको र केहीमा काम भइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए ।

तपाईको प्रतिक्रिया