म्यादी प्रहरीकाे छनाेट सुरू

पाल्पामा म्यादी प्रहरीका लागि दुई हजार बढीको आवेदन

तानसेन। आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सुरक्षामा खटिने देशभरका एक लाख १५ हजार म्यादी प्रहरीका लागि छनाेट प्रक्रिया सुरू भएकाे छ । भाद्र ३० गतेदेखि असाेज ६ गतेसम्म अावेदन दिएकाहरूबाट छनाेट प्रक्रिया सुरू भएकाे हाे ।

यसैबीच पाल्पाबाट दुई हजार ६७ जनाले आवेदन दिएका छन् ।  बढ्दो बेरोजगारीका कारण पनि म्यादी प्रहरीमा भर्ना हुन चाहनेको संख्या बढेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक हजार १८ जना पुरुष तथा पाँच सय ४९ जना महिलाले म्यादी प्रहरी बन्नका लागि आवेदन दिएका छन् । जसमध्ये पूर्व म्यादीबाट समेत ठूलो मात्रामा आवेदन परेको छ । गत बैशाखमा भएकाे स्थानीय तह सदस्य निर्वाचनमा  जिल्लामा कुल एक हजार ९१ जना म्यादी प्रहरी खटिएकोमा हाल सो संख्याको आधाबढीले पुनः आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरन्द्र थापाले बताए ।

थापाका अनुसार पूर्व म्यादीबाट मात्रै ६ सय ५४ जनाको आवेदन आएको छ । हाल प्रहरी प्रधान कार्यालयबाट जिल्लाका लागि कोट नछुट्याए पनि छनौट प्रक्रिया भने अघि बढेको सूचना अधिकारी थापाले बताए ।  १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिएका छन् ।

मापदण्ड अनुसार साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन नदेखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनाका आधारमा जिल्लामा बाक्लो रुपमा भर्ना छनोटका लागि आवेदन परेको हो ।

आजदेखि सुरु भएको छनोट प्रक्रियामा यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्व वनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने पनि प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया