
काठमाडौं । गायक तथा सञ्चारकर्मी सुमन गैरे पाल्पाबाट प्रतिनिधिसभामा उम्मेद्वार बन्ने भएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी उम्मेद्वार सिफारिस भएका हुन् । पार्टीको जिल्ला समितिको बैठकले यी सक्रिय युवालाई पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा सर्वसम्मत सिफारिस गरेको हो । गैरेको घर पनि सोही निर्वाचन क्षेत्र (बगनासकाली गाउँपालिका ७) मा पर्छ ।
राजनीतिमा युवा लाग्नुपर्छ भन्ने सोँचले आफू राजनीतिमा होमिएको गैरेले बताएका छन् । उम्मेदवार सिफारिस भएसँगै गैरेले फेसबुकमा लेखेका छन्, ‘म राजनीतिमा पक्कै नयाँ अनुहार हुँ । तर, देश समाजले अब के खोजेको छ मलाई पक्कै थाहा छ । तपाई हामीले सधै विश्वास गरेको अनुहारबाट के पायौ ? अब पनि सधै त्यही व्यवस्थाको पछि लागिरहने ? आउनुहोस्, अब कम्तिमा आफूले सक्दो सहयोग गरौं । देशलाई दुर्घटनाबाट बचाउन तपाईको पनि जिम्मेबारी हो । तपाईहरुको पूर्ण साथ सहयोगको आशा सँगै यो क्षेत्रको विकासका लागि हातेमालो गर्न आएको छु । सबै आदरणीय अभिभावकको आर्शिवादसँगै पूर्ण सहयोगको आशा गर्दछु ।’
गैरेले सांगीतिकसँगै सञ्चार क्षेत्रमा पनि लामो समय बिताएका छन् । जुझारु र हक्की स्वभावका गैरे पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गैरै उम्मेद्वार सिफारिस भएसँगै पाल्पाली युवाहरुले शुभकामना दिईरहेका छन् ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ रहेको छ ।