निर्वाचन निष्पक्ष र भयरहित बनाउन दलहरु प्रतिबद्ध

तानसेन। पाल्पाका राजनैतिक दलहरूले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा क्रियाशील आठ राजनैतिक दलहरूले निर्वाचनलाई निष्पक्ष, भयरहित र विस्वासनीय बनाउन सात बुँदे प्रतिबद्धता जनाएका हुन् ।

दलहरूले मतदाताको आफूले रोजेको उम्मेद्वारलाई मत राख्न पाउने हकको संरक्षण गर्दै एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । यस्तै मतदातासामु दलहरूले आफ्नो विचार र घोषणापत्र भयरहित वातावरणमा राख्न दिने र सम्मानपूर्ण व्यवहार गर्ने, निर्वाचन प्रचारमा बालबालिकालाई प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता रहेको छ । यस्तै मतदाता तथा सर्वसाधारणमा भ्रम फैलाउने भ्रमपूर्ण सूचना प्रवाह नगर्ने प्रतिबद्धता दलहरूले जनाएका नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।

यस्तै फरक राजनैतिक दल तथा उम्मेद्वारले गरेको सभा, भेला तथा जुलुस विथोल्ने वा बाधा पर्ने काम नगर्ने सहमति भएको छ । निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा पर्यवेक्षकसँग समन्वय गरी सहयोगी बनेर सघाउने प्रतिबद्धता दलहरूको छ । आगामी निर्वाचनलाई विस्वसनीय, भयरहित र निष्पक्ष बनाउन दलहरूले यस्तो प्रतिबद्धता जनाएको राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कँवरले बताए ।

दलहरुले निर्वाचन आचारसंहिता २०७९ को पूर्ण पालना गर्ने राजनैतिक दलहरूको कर्तव्य रहेको उल्लेख गरेका छन् । प्रतिद्धबतापत्रमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका जिल्ला नेताहरू हस्ताक्षर गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया