दशैंमा भारी वर्षा हुने, यस्तो छ मौसम पूर्वानुमान

तानसेन। यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमीतर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसर नवमीदेखि नेपालमा वर्षा सुरु हुने र द्वादशीसम्म कायम रहने छ । सो समयमा सबैभन्दा धेरै पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा हलकादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद विनोद पोखरेलले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले पनि दशैं विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको छ । यस्तै नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही जिल्लामा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

असोज १९ गते दशैंको टीकाको दिन त भने केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा अति भारी वर्षा हुनेछ । असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

त्यसैले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भएतापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया