तानसेन। निरन्तरको वर्षासंगै पहिरो खसेपछि तानसेन–रिडी तम्घास सडक खण्ड अवरुद्ध भएको छ। सो राजमार्गको रिब्दीकोट गाउँपालिका वडा नं. २ स्थित जोर्ते नजिकै पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध बनेको हो । जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडै खसेपछि सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ।
सडकमा खसेको पहिरो हटाउन सडक डिभिजन पाल्पाको डोजर ल्याउने काम भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
अहिले पनि वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँची, पाल्पा, बुटवलका यात्रु अलपत्र बनेका छन् ।
पहिरोका कारण दसैंका लागि टीका लगाउन जाने र आउने यात्रुहरु सबैभन्दा धेरै प्रभावित बनेको यात्रुहरुले बताएका छन् ।