वर्षाका कारण पाल्पाका अधिकांश सडक अवरुद्ध, दशैं मनाएर फर्किनेलाई सास्ती

तानसेन। निरन्तरको वर्षाका कारण पाल्पाका अधिकांश सडक अवरुद्ध भएका छन् । खासगरी ग्रामीण भेगदेखि जिल्ला सदरमुकाम जोडिने सडकसंगै कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडा रामपुर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै अविरल वर्षाले सडकमा पहिरो खसेपछि अवरुद्ध भएको आर्यभन्ज्याङ–रामपुर सडक खण्ड तीन हुँदा समेत सुचारु हुन सकेको छैन् । उक्त सडकखण्डको स्याफत, ताहुँलगायतका स्थानमा खसेको पहिरो हटाउने प्रयास भए पनि पुनः पहिरो खसेपछि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोरमा खसेको पहिरो पन्छाउने प्रयास भएपनि सवारी आवागमन हुन अझै समय लाल्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

उता तानसेन रानीमहल सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यस्तै जिल्लाका सबैजासो स्थानीय तह हुँदै जिल्ला सदरमुकाम जोडिने सडकहरु अवरुद्ध भएका छन्।

खहरेको भेलले पहिरो जाने सडक भासिने जस्ता समस्याका कारण खासगरी दशैं मनाएर पुरानै गन्तव्यमा फर्किनेहरु समस्यामा परेको स्थानीयले बताएका छन् ।

अहिले पनि पानी परिरहेको हुँदा यात्रा गर्न समस्या भएको छ भने सडक सुचारु गर्न समेत समस्या भएको स्थानीय तहका जप्रतिनिधिहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया