निर्वाचन सुरक्षाका लागि हातहतियार बुझाउन पाल्पा प्रशासनको अनुरोध

तानसेन। पाल्पा प्रशासनले निर्वाचन सुरक्षालाई मध्यनजर गरेर इजाजत प्राप्त हातहतियार प्रहरीमार्फत प्रशासनमा बुझाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी निर्वाचन पछि फिर्ता हुने गरी हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको हो ।

आगामी कार्तिक १० गतेभित्र सबै हात हतियार नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय माफर्त प्रशासनमा बुझाउनका लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

निर्वाचनका बेला इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) को दुरुपायोग हुन सक्ने भन्दै निर्वाचनमा खलल पुर्याउने खालका गतिविधि रोक्नका लागि पनि अनिवार्य रुपमा हतियार बुझाउन आग्रह गरेको प्रजिअ पन्तले बताए ।

यस्तै इजाजत बिनाका हातहतियार समेत फेला परेमा उक्त हतियार समेत तत्काल प्रशासनमा बुझाउन आग्रह गरेको छ ।

प्रहरीमा बुझाएका हतियार चुनाव सकिएपछि पुनः व्यक्तिलाई नै फिर्ता गरिने गरी माग गरिएको र लुकाएर हातहतियार राखेको पाइएमा इजाजत नै खारेज गरी कारबाही गर्ने स्थानीय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया