
काठमाडाैं। मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेपनि बदली र वर्षाको सम्भावना कम रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले बदली र वर्षाको सम्भावना नगन्य मात्रामा रहेकाे महाशाखाले जनाएकाे छ ।
मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय भएकाे र पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।
पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद्हरूले बताएका छन्।
यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको थियो ।
बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो ।
नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौँबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरियडाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । केही दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ ।