तानसेन। जिल्ला निर्वाचन कार्यालय पाल्पाले समानुपातिक मतदानमा सहभागी हुन पाउने अस्थायी मतदाताको नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा पाल्पाबाट जम्मा २ हजार ७१२ जना अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेद्वारलाई मतदान गर्न पाउने भएका हुन् ।
जिल्लाभरबाट अस्थायी मतदाताका रुपमा आएको ५ हजार ७३९ मतदातामध्ये अधिकांशको मतदाता नामावली नम्बर छुट भएकाले प्रारिम्भक नामावली प्रकाशनमा समावेश गर्न नसकेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
निर्वाचनमा खट्ने कर्मचारी, सुरक्षाकर्मी, शिक्षकलगायतका व्यक्तिले समानुपातिक मतका लागि अस्थायी नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।
सुरक्षा निकायतर्फ नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरीमा रहेका अधिकांशको अस्थायी मतदाता नामावलीमा समावेश हुन छुट भएको अर्यालले बताए ।
आयोगले कात्तिक १४ गतेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएकाले त्यतिबेलासम्म त्रुटी सच्याउने, छुट भएकाको थप गर्न सकिने भएकाले अस्थायी मतदाता बढ्न सक्ने जनाएको छ ।