तानसेन। तिहार नजिकिएसंगै पाल्पामा बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्लास्थित सरोकारवाला निकायले पर्वमा हुनसक्ने कालोबजारी र उपभोक्ता ढगीलाई न्यूनिकरण गर्न जिल्ला सदरमुकमदेखि ग्रामीण क्षेत्रका बजारमा पनि अनुगमन गरेका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त पहलमा अर्गली बजार क्षेत्रका होटल तथा किराना पसलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य वस्तु बिक्री गरेको, विना लेबलीङका आद्य बस्तु, पेय पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको छ ।
यस्तै सो क्षेत्रका ३७ वटा पसलमा गरिएको अनुगमनमा मापदण्ड विपरितका खाद्य बस्तु र विक्रीका लागि राखिएका किराना सामग्री जफत गरि नष्ट गरिएको छ । यस्तै केही व्यवसायीलाई सचेत समेत गराई व्यवसाय दर्ता गरी संचालन गर्न सुझाव पनि दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले बताए ।
अनुगमन टोलीले रिब्दीकोटको जोर्ते देखि तानसेन १४ को अर्गली बजारसम्मका होटेल, खाद्यान्न तथा किराना पसलका साथै जिल्ला सदरमुकाम तानसेन बजारमा पनि पर्वलक्षित अनुगमनलाई बढावा दिएको छ । तर उपभोक्ताले भने पर्वका बेला मात्र नभई बाह्रै महिना नियमित अनुगमनको खाचो रहेको बताउदै आएका छन् ।