
तानसेन। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पाल्पाबाट एक हजार दुई सय बढी म्यादी प्रहरी खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि भर्ना भएका एक हजार २१५ जना म्यादी प्रहरी पाल्पा जिल्लाका लागि खटिने भएका हुन् ।
सरकारले ७७ वटा जिल्लाका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना लिएको छ । जसबाट पाल्पाका दुई निर्वाचन क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा खटिने म्यादी प्रहरीको छनौटका क्रममा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरि उनीहरुका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
पाल्पामा तानसेन र रामपुरमा गरी दुई स्थानमा एकैसाथ १० दिने तालिम संचालन भइरहेको छ । आउदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पाबाट दुई हजार ६७ जनाले म्यादी प्रहरी हुनका लागि आवेदन दिएका थिए। प्रयोगात्मक र अन्तरवार्ता पश्चात छनौट भएकाहरुलाई अहिले तालिम दिइएको हो ।
निर्वाचनको सुरक्षामा खटिन पाल्पामा तीन सय २३ महिला आठ सय ९२ जना पुरुष गरी जम्मा एक हजार २ सय १५ जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।