
तानसेन। पाल्पामा रातिको ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारका बेला राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुमति दिएको हो ।
प्रशासनले एक सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न र देउसीभैलो खेल्दा घरबेटीको स्वीकृति लिन साथै निर्वाचन आचारसंहितालाई समेत पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जारी गरेको सूचनामा जुवा तास तथा कौँडा खेल्न पनि प्रतिबन्ध लगाएको छ । तिहार, छठ तथा नेपाल संवत् जस्ता चाडपर्वका बेला कानुन विपरितका खेल कौडा तथा तास नखेल्न प्रशासनले आग्रह गरेको हो ।
यस्तै पाल्पा प्रशासनले बजारमा देखिएका प्लास्टिकका माला समेत प्रयोग नगर्न, आतसबाजी, पटका जस्ता विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोग नगर्न पनि आग्रह गरेको छ । कानुन विपरीतका कार्य गरे कारबाही गरिने पनि स्थानीय प्रशासनले जनाएको छ ।