पाल्पामा बदर मत घटाउन नमूना मतदान सुरु

तानसेन।  पाल्पामा बदर मत घटाउन नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले तानसेन नगरपालिका वडा नं. १४ को अर्गलीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा नमूना मतदान गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालले स्थानीय मतदातालाई निर्वाचनमा सहभागि हुँदा पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी दिँदै नमूना मतदानमा सहभागि गराइएको बताए ।

विगतका आम निर्वाचन र गत बैशाखका सम्पन्न स्थानीय तहको निर्वाचनमा देखिएको बदर मतलाई घटाई मतदानमा नागरिकको सहभागिता बनाउन पनि नमूना मतदान गरिएको प्रमुख अर्यालले बताए ।

पहिलो चरणको नमूना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको समेत सहभागिता रहेको थियो । नमूना मतदानमा ३५ पुरुष तथा ३४ जना महिला मतदाता सहभागि भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहमा पनि नमूना मतदान गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै नमूना मतदानबाट निर्वाचनमा सहभागि हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने तरिका, बाहिर निस्कने तरिका, मतपत्रको सङ्ख्याका बारेमा समेत जानकारी दिइएको थियो ।

आयोगले स्थानीय स्तरमा पुगेर मतदानको बारेमा जानकारी दिएसंगै आफूहरुमा मत खसाल्ने ज्ञान बढेको र निर्वाचन सहभागि हुन उत्साह थपिएको मतदाताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया