पृथक मानिने पाल्पाको ‘सत्यवती मेला’मा भक्तजनको घुइँचो

पाल्पा। प्राय: मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शिवाद माग्ने गरिन्छ तर, पाल्पाको तिनाउ गाउँपालिकाको सत्यवतीमा भने नेपालमै अनौठो मेला लाग्ने गरेको छ । रातभर तालको वरिपरी घुमेर सत्यवती बज्यैसँग चिच्याएर वर माग्ने यहाँको अनौठो प्रचलन रहेको छ ।

परापूर्व कालदेखि चलेको प्रचलन अनुसार यो मन्दिरमा कार्तिक शुल्क पूर्णीमा कार्तिक महिनामा परेमा जोग परेको मानिन्छ । एकदिन अघि जागराम बसेर मध्येरातमा चिच्याएर बर माग्ने यहाँको प्रचलन अहिलेसम्म पनि कायम रहेको छ ।

जोग परेको समयमा मन्दिर छेउको तालमा बाँसको लिंगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने चलन मन्दिर व्यवस्थापन समितिले जनाएको छ। यसरी बर मागेमा भाकल पुरा हुने धार्मिक विश्वास रहेको हुँदा देशका विभिन्न जिल्लासंगै भारतबाट पनि बाक्लो रुपमा भक्तजनको उपस्थिती हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।

सत्यवती बज्यैदेवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको किम्बदन्ती छ । ताल र मन्दिरको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्चाएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने प्रचलनका आधारमा भाकल गर्न आएको कपिलबस्तुका खेम चेन्चुरी बताए ।

किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् । ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयवासी लालबहादुर दर्लाले बताए ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मन्दिर दर्शन गर्न र भाकलअनुसार पूजा गर्नको सहजताका लागि समिति र स्थानीय तहले मेला अवधि बढाउने तथा यातायातका साधन चलाउन पाउने व्यवस्था गरेका छन् जसका कारण यो वर्ष एकादशीदेनि नै मेला लागेको छ ।

मेला भर्नका लागि नेपालसंगै भारतका विभिन्न स्थानदेखि बाक्लो रुपम भक्तजनको उपस्थिती रहेको मन्दिर व्यवस्थापन समितले जनाएको छ।

तपाईको प्रतिक्रिया