तानसेन। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाल्पाका जनताले गठबन्धनको पक्षमा मतदान गर्ने गठबन्धन दलमा आवद्ध नेताहरुले बताएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सभा तथा घरदैलोका क्रममा गठबन्धनका पक्षमा जनलहर देखिएको हुँदा गठबन्धनकै उम्मेदवारले विजयी हासिल गर्ने उनीहरुले बताएका हुन् ।
मंगलबार जिल्लाका विभिनन स्थानमा भएको घरदैलोका क्रममा यसअघि नेकपालाई बहुमत दिएर सरकारमा पठाए पनि काम गर्न नसकेर बनेको गठबन्धनलाई देशको रक्षाका लागि मतदान गर्न उम्मेदवारहरुले आग्रह गरेका हुन् ।
मतदातासंगको भेटमा उम्मेदवारहरुलाई गठबन्धनलाई नै मत दिने आश्वास दिने गरेको बताएका छन् । मंगलबार पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सोमादी, सिद्धेश्वर र भुवनपोखारीमा घरदैलो तथा चुनावी सभाका बोल्दै पाल्पा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका नेता सोम प्रसाद पाण्डेयले गठबन्धनको पक्षमा जनलहर आएको बताएका छन् ।
उनले गाउँ-गाउँमा पुुग्दा जनताहरु अत्यन्त उत्साहित भएको भन्दै मंसिर ४ को चुनावमा गठबन्धनका उम्मेदवारलाई भोट दिनेमा विश्वास व्यक्त गरे ।
उनले सातमुरे सडको स्तरउन्नती गर्ने, हार्थोक, देउराली–सोमादी सिद्धेश्वर सडकको स्तरउन्नति गरी निर्वाचनपछि कालोपत्रे गर्ने कामको सुुरुवात हुने बताए ।
नेता पाण्डेयले कुसुमखोलादेखि भुवनपोखरीसम्म क्षेत्रमा सुन्तला र विभिन्न किसिमका फलफूलहरु रहेकाले उक्त क्षेत्रमा फलफूूल पकेट क्षेत्रको रुपमा विकास गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
यस्तै प्रदेश सभा पाल्पा २(२) का उम्मेद्वार तुलाराम घर्ती मगरले पश्चिम पाल्पा कृषि र पर्यटनको उर्वर रहेको बताउँदै साभाव्यता अध्ययन गरी कृषि र पर्यटन क्षेत्रमा विकास गरिने बताए ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका घर्तीले रैनादेवी छहराको मुझुङ्ग, छहरा, अमलावास क्षेत्रमा कृषि र पशुपालनको पकेट कार्यक्रम सञ्चालन गरी युवा स्वरोजगार र आयआर्जन वृद्धि गर्ने समेत बताए ।
उनले सुन्तला, अदुवा, खुर्सानी र वनजन्य पैदावारको माध्यमबाट युवाहरुलाई आयमुलक गतिविधिमा जोड्ने कार्यक्रम ल्याउने जनाउदै आफूलाई विजयी गराउन मत मागेका हुन् ।
मतदातासंगको घरदैलोमा स्थानीय सुवास पल्लीले उम्मेदवारहरुलाई समस्याका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा पूर्व सांसद यादवबहादुर रायमाझी, नेपाली काँग्रेसका नेताहरु रामबहादुर कार्की, राम कार्की, माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विक, जिल्ला सचिव मथुरा ढकाल,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय जनमोर्चाकी समानुपातिक उम्मेदवार नरमती सिंजाली, गठबन्धन रैनादेवी हछरा गाउँपालिकाका संयोजक विष्णुु प्रसाद पोखरेल, नेपाली काँग्रेसकी नेतृ चेतना थापा, काँग्रेसका युवा नेता शंकर रायमाझी, काँग्रेस महासमिति सदस्य नलबहादुर सारु, माओवादीका अर्जुन ज्ञवाली, वाइसियल रैनादेवीका उपाध्यक्ष बद्री पोखरेल, काँग्रेसका वडा सभापति शालिकराम ज्ञवाली, शिवप्रसाद न्यौपानेलगायतले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।
सो कार्यक्रममा जनवादी गायक झनकार बूढा मगरको विशेष प्रस्तुति रहेको थियो । उनले जनताको पक्षमा गीत गाउँदै गर्दा आमजनताहरु उत्साहित हुँदै गठबन्धनको पक्षमा उर्लिएका थिए । सोही अवसरमा रनज मञ्जु श्री कलाकेन्द्रको नृत्य समेत प्रस्तुत गरिएको थियो ।