
तानसेन। आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम घर्ती(बसन्त)ले देश संकटमा भएको बेला काँग्रेस र कम्यूनिष्ट मिलेर अघि बढ्नुको विकाल्प नरहेको बताएका छन् । पश्चिम पाल्पाका विभिन्न वडाका मतदातसंगको भेटमा घर्तीले हजारौं शहिदहरुको रगत र बलीदानी बगेर आएको गणतन्त्र र संघीयताको रक्षाको लागि पनि अहिलेको अवस्थामा कम्यूनिष्ट र काँग्रेस मिल्नु पर्ने अवस्था आएको बताए ।
उनले नयाँ संरचनामा प्रदेशमा विभिन्न कानून निर्माणको काम गरेर प्रदेशले संस्थागत र विकासका कामहरु सुरु गरेकोले ति सुचारु भएका कामहरुलाई पूरा गर्नको लागि यस पटक फेरी आफू उम्मेद्वार भएको भन्दै अधुरा काम पूरा गर्न र विकासको नयाँ मार्ग कोर्नको लागि वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
घर्तीले हार्थोक– सिद्देश्वर सडकको स्तरउन्नति गर्ने, अमलावास, धजाबान्ने, सोमादी–सिद्देश्वर–वनवास बाटो, सिद्देश्वर मराङ्दी, चिसापानी खानेपानीको कामको लागि तीन करोड बजेट विनियोजन भएको बताउँदै त्यो काम अहिले सम्पन्न गर्ने गरेर काम भइरहेको बताए । पूर्व प्रदेशसभा सदस्य रहेका घर्तीले आफ्नो पहलमा साउने, देवले, अर्चले र असारे क्षेत्रको खानेपानी समस्या समाधान गर्न पहल गरेका भन्दै खानेपानीको ट्यांकी निर्माणको अन्तिम भएको भन्दै बाँकी काम अबको एक, दुई वर्षमै पूरा गर्ने बताए ।
सिम्ले कसेनी फाँट सिंचाई आयोजना, असारेको खानी क्षेत्रको समस्याको व्यवस्थापनको पहल गर्ने, कृषि, सिंचाई र युवा स्वरोजगारको निम्ति विशेषखालको प्याकेज ल्याउने घर्तीले बताए। पाल्पामा आफू सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकोले ति विनियोजित बजेटका कामको सम्पन्न र नयाँ विकासको कामको लागि गठबन्धन मार्फत आफूलाई विजयी बनाउन सबै मतदाताहरुमा घर्तीले आग्रह गरेका छन् ।
उनले विगतदेखि नै देश संकटमा परेका बेला बाम लोकतान्त्रिक गठबन्धनबाट नै निकास निकालेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका घर्तीले कम्यूनिष्ट र काँग्रेसको मिलनबाट नै देशको विकास हुने दावी गरे । ४६ सालको आन्दोलन, ०६२।०६३ को जनआन्दोलनमा काग्रेँस र कम्युनिष्ट एकै स्थानमा रहेर सफल भएको जनाउदै अहिलेको गठबन्धन केपी ओलीले गरेको संविधान विरोधी गतिविधिबाट गठन भएको हुँदा यसले मुलुक र संविधान रक्षाका पक्षमा गर्ने बताए ।