तानसेन। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् । क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू बिहीबार ताहुँको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त भएका हुन् ।

मतदाताहरुसँगको भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले नेकपा एमाले जनताको पक्षमा बोल्ने पार्टीको रुपमा रहेको बताए । आचार्यले एमाले सरकारमा रहेको समयमा देशव्यापी राम्रो काम भएको र पाल्पामा पनि धेरै महत्वपूर्ण योजनाहरु सञ्चालन गरिएको बताए ।

उनले ताहुँमा १५ शैयाको अस्पताल निर्माण कार्य जारी रहेको, प्रहरी चौकी ताहुँमा इन्स्पेक्टरको दरबन्दी रहने गरि स्तरोन्नति हुँदै गरेको बताए ।

देशका १ सय मुख्य पर्यटकीय गन्तव्यको रुपमा ऐतिहासिक रम्भादेवी मन्दिर रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि स्थानीय सरकारसँगको सहकार्यमा थप कार्यक्रमहरु अगाडि बढाइने आचार्यले बताऔं । ‘रम्भादेवीसँगै रिमिघा लेक र बाकुमगढीलाई पनि पर्यटन प्रवर्धन गरिने उनले बताए । ताहुँमा वस्ती विकास योजना अगाढि बढाउने छौं।’ आचार्यले भने ।

यस्तै क्षेत्र नं. १ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार खेमबहादुर सारुले आर्यभञ्ज्याङ रामपुर बाटो स्तरोन्नतिका लागि ठोस् पहल गर्नु आवश्यक रहेको र नेकपा एमालेको सरकार बनेलगत्तै यो कार्यलाई प्राथमिकता दिई अगाडि बढाइने बताए । सो अवसरमा एमाले पोलिट्व्युरो सदस्य दलबहादुर रानाले जनताको अमूल्य लिएर नेकपा एमालेले जनताकै पक्षमा काम गर्ने बताए ।

क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ रामपुर क्षेत्रमा घरदैलो तथा भेटघाटमा जनताको अमूल्य मतको कदर गर्दै आफू सदैव जनताको सेवक बन्ने प्रतिबद्धता जनाए ।

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलोमा सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि आफूले पहल गर्ने बताए । नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्नेलगायतका मागहरु राखेकोमा जनताको भावना र आवश्यकता अनुसार आफू सधै जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

पाल्पा क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओम बहादुर घर्तीले आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाए।

क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ का मतदाताहरुको घर घरमा घरदैलो कार्यक्रममा तानसेन शहरलाई पर्यटनको आर्कषणको रुपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आभुनिकीकरणमा आफ्नो पहल रहने बताएका थिए ।

तपाईको प्रतिक्रिया