‘माडी चक्रपथलाई आर्थिक करिडोर बनाउछौं’

तानसेन। पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका छन् ।

यस अघि प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले शुक्रबार माथागढी गाउँपालिकाको चिदीपानीमा घरदैलो तथा सभामा बोल्दै माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका हुन् ।

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार सोम प्रसाद पाण्डेयले आफू सांसद हुँदा तत्कालिन मन्त्रिपरिषद्को अध्यक्षलाई पेश गरेको माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी त्यस क्षेत्रको जनताको विकासको लागि व्यवसायिक र आर्थिक करिडोरको रुपमा विकास गर्ने बताए ।
पाण्डेयले तिनाउ खोलाले यस क्षेत्रमा वर्षेनी माडीका जनतालाई पीडित बनाएको भन्दै तिनाउ खोलाको रेखांकन गरी स्थायी टटबन्ध निर्माण गरिने समेत प्रतिवद्धता जनाए ।

आफू पनि माडीकै बासिन्दा भएकाले माडी क्षेत्रमा जोडिएको मदनपोखरा, चिदीपानी, पोखराथोक, नायर, चिर्तुङ्गधारा, झडेवा, कसेनी, रुप्से लगायतका जनताको समस्या समाधानमा प्रतिवद्ध भएर लाग्ने पाण्डेले बताए । उनले चिदीपानीको बुढीकोट, धैरनी, सातदोवाटो लगायतको क्षेत्रमा घरदैलो गर्दै यहाँको सडकको विस्तार, सिंचाई, खानेपानी, सडकको स्तरउन्नती लगायतको काम गर्ने समेत बताए ।

पाण्डेयले चिदीपानीको माथागढी सहकारीको भवन निर्माणको लागि सांसद विकास कोषबाट सहयोग गरेको, त्यही भवनमा अहिले विद्यालय सञ्चालन भएकाले त्यस विद्यालयको भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा आफूले काम गर्ने पनि बताए । नेता पाण्डेयले चिदीपानीको शौभाग्य माविलाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने समेत प्रतिवद्ध जनाए । पाण्डेले जनताको समस्या समाधानका लागि निर्वाचित भएपछि जनताकै घरमा बास बस्ने समेत बबताए ।

कार्यक्रममा प्रदेश सभा ९२० १ का उम्मेदवार वीर बहादुर रानाले पनि माडी चक्र पथलाई व्यवसायिक र आर्थिक रुपमा जोड्ने गरी काम गर्ने बताए । उनले चिदीपानी क्षेत्रका जनतालाई परेको मर्कामा आफू सदैव हातेमालो गर्न तयार रहेको भन्दै माडी ,चिदीपानी क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गर्ने प्रतिवद्धता जनाए ।

जनताको आर्थिक समृद्धि र विकास गठबन्धन नेतृत्वको सरकारले मात्र गर्ने भन्दै त्यसको लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सबै मतदाताहरुलाई आग्रह गरे ।

कार्यक्रममा गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेताहरु राजनप्रसाद पन्त, सन्तोष कुमार थापा, राजेन्द्र गोपाल सिंह, झपेन्द्र गहिरे, शिव प्रसाद घिमिरे, माधव नेपाल लगायतले चिदीपानी र समग्र पाल्पा जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया