
तानसेन। पाल्पामा राप्रपा नेपालका उम्मेदवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
आगामी मसिंर ४ गते हुन लागेको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमामापाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरेले आइतबार एक विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवेश गरेका हुन् । विगत लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका गैरेले राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन्। उनले नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको पनि जनाएका छन् ।
‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ गैरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच गैरेलाई सोमबार नै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् । पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने पनि सभापति श्रेष्ठले बताए ।