तानसेन। पाल्पामा आइतबार सम्पन्न आम निर्वाचनमा ६०.९४ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा कूल दुई लाख १ हजार ३२६ जना मतदाता रहेकोमा एक लाख २२ हजार ६९४ जनाले मतदान गरेका हुन् । मतदान गर्नेमा महिला ६७ हजार ७८९ तथा ५४ हजार ९०२ पुरुषले मतदान गरेका हुन् ।

यस्तै अन्यमा ३ जनाले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार पुरुषको तुलनामा १२ हजार बढी महिला मतदातले मतदान गरेका हुन् ।

यसैबीच पाल्पाका दुवै निर्वाचन क्षेत्रमा एकै चरणमा मतगणना सुरु भएको छ । सोमबार बेलुकादेखि क्षेत्र नं. १ को रामपुरस्थित मालपोत कार्यालयमा र क्षेत्र नं. २ को तानसेनस्थित बाल मन्दिरमा मतगणना जारी रहेको छ ।

दुवै मतगणना स्थलमा अहिलेसम्म कुनै पनि नतिजा भने सार्वजनिक गरिएको छैन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडागत रुपमा नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

पाल्पाको क्षेत्र नं. १ मा ३७ तथा क्षेत्र नं. २ मा ४४ वटा वडा रहेका छन् । दुई प्रतिनिधिसभा तथा ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया