
तानसेन। नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाले जिल्लास्थित सचिवालय बैठक गरी निर्वाचन समिक्षा गरेको छ । बैठकमा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तथा पाल्पा जिल्ला इन्चार्ज सोमप्रसाद पाण्डेयको अध्यक्षमा बसेको बैठकले हालै सम्पन्न निर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई सम्मान जनक मत प्राप्त भएकोमा पाल्पाली मतदाताहरुलाई आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
बैठकमा नेता पाण्डेयले आफूले निर्वाचित हुँदा वा नहुँदा पाल्पालीको समस्या, सुख, दुःख र विकास निर्माणमा सदैव हातेमालो गर्ने बताए ।
उनले आफ्नो पहलमा पाल्पाको विकासको मेरुदण्डको रुपमा रहेको सिद्धबाबा क्षेत्रको सुरुङ्गमार्ग, तानसेन खानेपानी, सडकलगायतका पूर्वाधार विकासमा ल्याएको योजना समयमा निर्माण गर्न आफूले सदैव निगरानी राख्ने बताए।
बैठकले गठबन्धनमा केही व्यक्तिहरु र तत्वको स्वार्थको भरमा केही स्थानहरुमा आशातित नतिजा ल्याउन नसकेपनि सम्मानजनक मत प्राप्त भएकोले आगामी दिनमा भएमा कमी कमजोरी सुधार गरी थप जनसेवामा लाग्ने निर्णय समेत गरेको छ । यस्तै संगठन विस्तार र सुद्रिढीकरण अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकमा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यादव बहादुर रायमाझी, केन्द्रीय सदस्य तथा प्रदेश सभाका निर्वतमान सांसद रमा घर्ती, केन्द्रीय सदस्यहरु अशोक कुमार शाही, लक्ष्मीदेवी पाठकलगायतले निर्वाचनको बारेमा आफ्नो धारणा राखेका थिए ।
बैठकमा जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयले निर्वाचनको अवस्थाबारे जानकारी दिएका थिए । यस्तै पार्टी सचिव मोहनलाल गैरेले पछिल्लो अवस्थाबारे जानकारी गराएको प्रचार प्रसार संयोजक पदम गैरेले जानकारी दिए ।