
तानसेन। पाल्पाको तानसेन नगरपालिका ८ मदनपोखरा छापका महिलालाई एक हप्ते होमस्टे सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको छ । होमस्टे संचालन र व्यवस्थापनको लागि तानसेन नगरपालिकाले युएनडिपी र ग्रामीण आथिर्क विकास संघ(रेडा)संगको संयुक्त पहलमा कार्यक्रम गरिएको हो । र विभिन्न संघ संस्थाको समन्वयमा तालिम दिइएको हो ।
तालिमको समापन गर्दै तानसेन नगरपालिका उप प्रमुख प्रतीक्षा सिङ्जालीले ग्रामीण क्षेत्रमा आय आर्जनसँगै पर्यटन पर्वधनका लागि होमस्टेले सहयोग पुर्याउने बताइन् ।
उनले नेपालको ग्रामीण क्षेत्रहरु पर्यटकीय आर्कषणको केन्द्र रहेको बताउदै होमस्टे मार्फत स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएर स्थानीयको आय आर्जन वृद्धि र स्थानीय उत्पादनको बजारीकरण गर्न समेत सहयोग पुर्याउन नगरपालिकाकाले पहल गर्ने बताइन् ।
तालिममा खाद्यबस्तुलाई विभिन्न परिकार बनाउन सिकाइएको थियो । तालिममा सहभागिले स्थानीय रुपमा उत्पादित कोदोको मम, फापर र मेवाको रोटी, तरुलका खिर, केराका परिकार, मकैकासुत्लाको चिया बनाउन सिकेका छन् ।
वडा अध्यक्ष सोमनाथ अर्यालका अनुसार सिन्कीको स्पेशल अचार, मासुका स्पेशल परिकार बनाउन सिकाउनुको साथै स्थानीय झाम्रे नाच सम्बन्धी प्रस्तुतीका बारेमा पनि सहभागिलाई सिकाइएको थियो ।
तालिमबाट छाप देउराली पिपलडांडा तथा कोकल क्षेत्रलाई आर्थिक र सामाजिक क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।