तानसेन। पाल्पामा एकैदिन दई जनाकाे बेवारिसे शव फेला परेको छ । बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका वडा नं–३ पाखण्डीमा बेवारिसे शव फेला परेको छ । स्थानीयले सर्वजित थापाको बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान गर्दा पुरुष व्यक्तिको शव सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । उक्त शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, रिब्दीकोट गाउँपालिका–१ सातमुरेस्थित रिडीखोलामा बेवारिसे शव फेला परेको छ । खोलाको बिच भागमा पानीमा डुवेको अवस्थामा नाम थर नखुलेको व्यक्तिको शव फेला परेको प्रहरीको भनाई छ ।
शव खोलाको बिचमा बाँया खुट्टा पानी बाहिर र शरीरको अन्य भाग पानीमा डुबेको अवस्थामा भेटिएको हुँदा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।