तानसेन। पाल्पामा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढेको छ । धान लगाउने जग्गाको क्षेत्रफल बढेका कारण गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ।

एक वर्षअघि आठ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यो वर्ष खेती गर्ने क्षेत्रफल बढेर आठ हजार २१० हेक्टर पुगेको हुँदा धान उत्पादन पनि बढेको हो ।

धान लगाउने क्षेत्रफल बढेको र पानी मललगायतको पनि राम्रो प्रबन्ध भएका कारण उत्पादनमा केही मात्रामा वृद्धि भएको कृषि ज्ञान केन्द्र, पाल्पाका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए ।

गत वर्षभन्दा यो वर्ष दुई प्रतिशतले उत्पादनमा बृद्धि भएको हो। गत वर्ष ३१ हजार ४२८ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३२ हजार १९ मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

धान स्याहार गर्ने बेलासम्म विभिन्न रोगका कारण यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएपनि उत्पादन बढेको ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले जानकारी दिइन् ।

धान उत्पादन बढेपछि उत्पादकत्वमा समेत सकारात्मक असर गरेको छ । गत वर्ष जिल्लाको धानको उत्पादकत्व तीन दशमलव ८२ प्रतिशत रहेकोमा यो वर्ष बढेर तीन दशमलव ९ पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

पाल्पामा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धान खेती हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया